तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । रेडियो नेपालमा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन  र मिडिया कभरेज सम्बन्धी तालिम सम्पन्न भएको छ । 

सिंहदरबारस्थित रेडियो नेपालमा आयोजित तालिमको आज समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले तालिमबाट सहभागी सञ्चारकर्मीहरूले प्राप्त गरेका अनुभवलाई व्यवहारमा उतारेर छिटो छरितो र सत्यतथ्य सामग्री प्रसारण तर्फ जोड दिन आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशक केसीले कामको सिलसिलामा निष्पक्ष भई आचारसंहिताको पूर्ण पालना गदै काम गर्न पनि  सहभागी सञ्चारकर्मीहरूलाई निर्देशन दिनुभयो । 

यस्तै रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले रेडियो नेपालको राष्ट्रिय दायित्वलाई पुरा गर्न सदाको निर्वाचन जस्तै यसपालिको निर्वाचनमा पनि रेडियो नेपालले आधिकारिक समाचार दिने संस्थाको रुपमा आफूलाई प्रमाणित गर्ने बताउनुभयो ।  

रेडियो नेपालका अर्का नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले निर्वाचनमा रेडियो नेपालले प्रयोग गर्ने प्रविधिका बारेमा प्रशिक्षण दिनुभएको थियो । 

यसैगरी तालिमका प्रशिक्षक डा. सुरेश आचार्यले आधिकारिक समाचारको प्रमुख मापनका रुपमा रेडियो नेपाल चिनिएकाले रेडियो नेपालले आफ्नो यो विश्वसनीयता कायम राख्नुपर्ने बताउनुभयो । 

अर्का प्रशिक्षक बबिता बस्नेतले मतदाता शिक्षामा सञ्चारको भूमिका महत्त्वपूर्ण हुने भएकोले यस तर्फ विशेष  ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । 

मङ्गलवारदेखि सुरु भएको तालिममा रेडियो नेपालका देशभरका संवाददाता भौतिक र भर्चुअल रुपमा सहभागी रहेका थिए । 

तालिम निर्वाचन कानुन र आचारसंहिता, निर्वाचन कभरेजको अन्तर्राष्ट्रिय अभ्यास, निर्वाचनमा रेडियो नेपालको विद्यमान प्राविधिक क्षमता, कभरेजमा ध्यान दिनुपर्ने विषयहरू, रिपोर्टिङका समस्या र समाधान लगायतका विषयमा केन्द्रित रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button