तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो(अपडेट)

बारा  । बारामा आज बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ स्थित तीन नम्बर पुल नजिकै नारायणगढबाट बिरगंजतर्फ आउँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको यात्रुवाहक बस आज बिहान करिब १० बजेर ३० मिनेटमा आफै अनियन्त्रित भई रोडबाट १५/२० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बसमा ३५÷४० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेहरूलाई उपचारको लागि सिमरास्थित अल्पाइन र हेटौँडा अस्पतालमा पठाइएको छ ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमलसिनाले जानकारी दिनुभयो ।

बसका चालक हालसम्म सम्पर्कमा नरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक तिमलसिनाले बताउनुभयो  । 

प्रहरी वरिष्ठ नायव निरीक्षकको नेतृत्वमा ३० जनाको सङ्ख्यामा प्रहरी दुर्घटना स्थलतर्फ पठाइएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button