तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गा पक्षको नवौँ दिन मनाइयो महानवमी

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ ।

कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइएको छ । 

दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशति (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । 

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्ति पीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिइएको छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । 

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ । 

दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिएको छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गीनिशाना पूजा र कोत पूजासमेत गरिएको जनाइएको छ ।

तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजन
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज हजारौँ भक्तजनले दर्शन गरेका छन् । 

आज लाम लागेका सबै भक्तजनलाई रातिसम्म मन्दिर खुला गरेर भए पनि दर्शन गराउने तयारी गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button