तपाईँ सुन्दै हुनुहुन्छः

‘निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध’

बारा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले जनताको घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बाराको सिमरामा करिब २१ करोडको लागतमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल शिलान्यास गर्नुहुँदै मन्त्री खापुङले नेपालको संविधानमै मौलिक हकको रुपमा स्वास्थ्य सेवालाई राखिएका कारण सरकार त्यसको प्रत्याभूति गराउन लागिपरेको बताउनुभयो ।

प्रत्येक स्थानीय तहमा एक अस्पताल र प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने संघीय सरकारको अवधारणा लाई मूर्तरूप दिन उपमहानगरपालिकाले अस्पताल निर्माणको काम अघि बढाएको हो ।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलका अनुसार एक महिनाभित्रमा सेवा सुरु गरिने तयारी छ । उपमहानगरपालिकाले एक रोग विशेषज्ञ चिकित्सकसहित तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ ।

नगर प्रमुख पौडेलले उपमहानगरपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशीघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षण गराउनुभयो ।

उपमहानगरपालिकाले यसै वर्षदेखि मिर्गौलाको डायलासिस सेवा समेत सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button