तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरणमा चुनौती: वनमन्त्री यादव

चितवन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्ज ऐनका कारण मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणमा चुनौती आएको बताउनुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ५० औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अवसरमा आज कसरामा आयोजित कार्यक्रममा उहाँले ऐन परिवर्तन आवश्यक रहेको बताउनुभयो । २०२९ सालको ऐनमा हामीले काम गरिरहनु परेकाले परिमार्जन र समय अनुसार संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

समुदायको जीविकोपार्जन र मानव अस्तित्व जोगाउन संरक्षण हुनुपर्ने भन्दै यसको जिम्मेवार सबै जना भएको बताउनुभयो । ऐनका कारण पनि मानव र जनावर बिचको द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान सरकारले नीति बनाएर वन्यजन्तु र मानव बिचको द्वन्द्व घटाउन नयाँ उपकरण (एनाईडर)जडान गरी वन्यजन्तु मानव बस्तीमा पस्न रोक्ने बताउनुभयो ।

उक्त प्रविधि भारतमा सफल परीक्षण भइसकेकाले नेपालमा जडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरूले निकुञ्ज र समुदाय बिचको द्वन्द्व न्यूनीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button