तपाईँ सुन्दै हुनुहुन्छः

मधेश विश्वविद्यालयको उद्घाटन

वीरगंज । २५ वर्षदेखि बीरगंज विश्वविद्यालय स्थापनाका लागि बीरगंजवासीले देखेको सपना अन्ततः पुरा भएको छ  ।

पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयसँगै बीरगंज विश्वविद्यालयको मुद्दा उठेको भए पनि सरकारले तत्कालीन अवस्थामा सम्बन्धन नदिएपछि अलपत्र बनेको वीरगन्जवासीको विश्वविद्यालय देख्ने सपना मधेश विश्वविद्यालय बीरगंजमा स्थापना भएसँगै पुरा भएको हो । 

वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि २०५४ सालदेखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै विश्वविद्यालयका लागि करोडौँ रुपैयाँ सङ्कलन समेत गर्दै आएका थिए । 

डा.भगवान् यादव संयोजक रहनुभएको बीरगंज विश्वविद्यालयको नाममा करोडौँ रुपैयाँ अझै बैङ्कमा मौजुदा छ । 

विश्वविद्यालयको ठाउँमा मधेश विश्वविद्यालय आज साँझ भव्य कार्यक्रमसहित मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवल किशोर साहले पूर्व उपप्रधानमन्त्री एवं जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, बन मन्त्री प्रदीप यादव, मधेश प्रमुख हरिशंकर मिश्रलाई साक्षी राखेर उद्घाटन गर्नुभएको थियो । 

वीरगन्जको श्रीपुरस्थित नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविद्यालयको केन्द्रिय कार्यालय स्थापना गरिएको छ । 

विश्वविद्यालयको उपकुलपतिमा वीरगन्जकै प्राध्यापक डा.दिपक शाक्यलाई नियुक्त गरिएको छ ।

विश्वविद्यालयको भवन करिब १ सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति डा.शाक्यले जानकारी दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसको केन्द्र वीरगंज भएको र बीरगंजमा मधेश विश्वविद्यालय स्थापनाले मधेश आन्दोलनमा वीरगंजका जनताले पुर्‍याएको योगदानको कदर मधेश सरकारले गरेको बताउनुभयो ।

कार्यक्रममा वनमन्त्री प्रदीप यादवले वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि वषाँैदेखि नेपाल सरकारसँग आफूहरूले पटक पटक हार गुहार गरे पनि सुनुवाई नभएको अवस्थामा प्रदेश सरकारले मधेश विश्वविद्यालय स्थापना गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आजको युग विज्ञान र प्रविधिको युग भएकाले मधेस विश्वविद्यालयलाई विज्ञान र प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । 

उहाँले लामो समयपछि वीरगंजवासीको चाहना पुरा भएको भन्दै अब यसलाई संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा प्रदेश सरकारसँगै वीरगन्जवासीको पनि भएको बताउनुभयो । 

यसैबीच आज बिहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालाबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह, बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायतका व्यक्तिहरूले मधेश विश्वविद्यालयको स्थलगत अवलोकन गर्नु भएको थियो । 

सो क्रममा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन समेत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button