तपाईँ सुन्दै हुनुहुन्छः

करारका नगर शिक्षकहरूद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाबाट हटाइएका करारका नगर शिक्षकहरूले पून:बहालीको माग गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आफूहरूको मागको बेवास्ता गरेको भन्दै उनीहरूले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाले नगरका करार शिक्षकको करार अवधि थप नगरेपछि उनीहरू सङ्घर्ष समिति बनाएर गत साउन २३ गतेदेखि नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत शिक्षकहरू नगर कार्यपालिका कार्यालयको मुल द्वारमा दैनिक धर्ना दिँदै आएका थिए । सोही कार्यक्रम अन्तर्गत साउन २६ गते नगरपालिका घेराउ गर्दै उनीहरूले त्यहाँको प्रशासनिक कामकाजमा समेत उनीहरूले अवरोध पुर्‍याएका थिए ।

तर पनि आफूहरूको मागप्रति नगरपालिका र मेयर गम्भीर नभएपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको बर्दिबास नगर शिक्षक करार सङ्घर्ष समितिका संयोजक बलराम महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो चरणमा धर्ना, कालो पट्टीसहित पठनपाठन, पेन डाउन लगायतका कार्यक्रम छन् ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत साउन ३० गते पहिलो दिन फुल टाइम धर्ना, साउन ३१ गते धर्नासँगै शिक्षकहरूको कालो पट्टीसहित पठनपाठन, भदौ १ गते धर्ना र एक घण्टा पेन डाउन, भदौ २ गते धर्नासँगै दुई घण्टा पेन डाउन र भदौ ५ गते पूर्ण रुपमा पेन डाउनसहित विद्यालय व्यवस्थापन समिति, शिक्षक महासङ्घ आबद्ध शिक्षकहरू, बुद्धिजीवी, निर्वाचित जनप्रतिनिधि, अभिभावक, सम्पूर्ण राजनीतिक दल एवम् सरोकारवाला निकायका व्यक्तिहरूसहितको विशाल विरोध कार्यक्रम रहेको संयोजक महतोले बताउनुभयो ।

बर्दिबासलाई शैक्षिक हब बनाउने अभियानमा विद्यालयहरूमा शिक्षकको कमी भएपछि पूर्व मेयर विदुरकुमार कार्कीले खुल्ला प्रतिस्पर्धामार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गर्नुभएको थियो ।

तर, गत साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरूलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई परिपत्र गरेपछि शिक्षकहरू आन्दोलित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button