तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पनि मनाइयो गाईजात्रा पर्व

भोजपुर । भोजपुरमा शनिवार गाईजात्रा पर्व मनाइएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि जिल्लामा गाईजात्रा मनाइएको हो ।

यो दिन मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले मृतक आफन्तको सम्झनामा उनीहरूको तस्बिरका साथै पुत्लाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।

सोही अनुसार भोजपुरमा पनि मृतकका परिवारले आफ्ना स्वर्गीय परिवारका सदस्यको सम्झनामा प्रतिमा तथा तस्वीर बनाएर नगर परिक्रमा गराएका छन् । यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास छ ।

गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले विह्वल भएकी आफ्नी रानीलाई फकाउन ‘हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुति पाइन्छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइँदै आएको मानिन्छ ।

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । विशेष गरेर यो पर्व नेवार समुदायको बसोबास भएको क्षेत्रहरूमा मनाउने गरिन्छ ।

गाईजात्रा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका अतिरिक्त बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली बजार, पाल्पा, दोलखा, भोजपुर, खोटाङ, सङ्खुवासभा, रामेछाप, लगायत ठाउँमा पनि बर्षेनी मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button