तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ: विना लगानी, राम्रो आम्दानी

सोलुखुम्बु । जब वर्षायाम सुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउँछन् । तिनै च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।

जङ्गली च्याउ खाँदा विभिन्न स्थानमा ज्यानै गएको घटना सुनिए पनि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँ बजारमा भने जङ्गली च्याउ बेचेर ग्रामीण महिलाहरूले घर खर्चको बन्दोबस्त गर्ने गरेका छन् । उत्पादनमा आफ्नो लगानी नपरेको च्याउ दिनभरि जङ्गलमा खोजेर ल्याउने र बजारमा विक्री गरेर राम्रो आम्दानी हुने गरेको छ ।

सदरमुकाममा प्रत्येक शनिबार लाग्ने हाटमा रातो, पहेँलो लगायत विभिन्न थरीका नामै थाहा नभएका च्याउ विक्रीका लागि ल्याइन्छन् । बजारमा सोलुदूधकुण्ड नगरपालिकाका तामाखानी, गार्मा, बेनी, सल्लेरी र काँकु लगायतका क्षेत्रबाट जङ्गली च्याउ आउने गर्दछन् ।

‘च्याउको व्यापार गरेर घर खर्च चलाउन सजिलो भएको छ । च्याउ खाएर कोही बिरामी पनि भएको छैन’ सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीकी टीकामाया तामाङले भन्नुभयो ।

औषधीका रुपमा समेत प्रयोग हुने रातो च्याउ सल्लेरीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले कोसेलीका रुपमा समेत लाने गर्दछन् । रातो च्याउ प्रतिकेजी एक हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । अघिल्लो वर्ष पहेँलो च्याउ प्रतिपाथी दुई सय रुपियाँले विक्री भएकोमा यस वर्ष चार सय रुपियाँसम्म विक्री भइरहेको व्यापारी बताउँछन् ।

यता च्याउ किन्ने ग्राहक भने खाने/नखाने च्याउ छुट्टाउने निकाय नभएकाले अन्योलमा नै किन्ने गरेको बताउँछन् । ‘सबैले खाने गरेको च्याउ किन्ने गरेका छौँ । अहिलेसम्म केही भएको छैन । कतिपय त नचिनेको च्याउ पनि हुन्छ’ सल्लेरीका ज्ञानु बस्नेतले भन्नुभयो । हालसम्म बजारमा किनेको च्याउ खाएर कसैको स्वास्थ्यमा असर नपरेको उपभोक्ताहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button