तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाको मधुश्रावणी पर्व विधिपूर्वक सम्पन्न

जनकपुरधाम । प्रत्येक वर्ष साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्ल पक्ष तृतीया तिथिसम्म चल्ने मिथिलाको महान् पर्व मधुश्रावणी आजबाट सम्पन्न भएको छ ।

नवविवाहिता महिलाहरूले विधिपूर्वक गौरी, महादेव तथा नाग देवताको विशेष पूजाआजा गर्दै कथा सुनेर पर्वको समापन गरेका छन् । यस दिन बिहानदेखि मिथिलाको व्रत गर्ने जातिको बसोबास भएका गाउँ गाउँ एवं सहरहरूमा विशेष चहलपहल देखिएको छ । पतिको दीर्घायु, सुस्वास्थ्यको कामनासहित मनाइने मधुश्रावणी पर्वले कालको मुखमा पुगेका पतिको जीवन रक्षा गर्ने मान्यता पनि रही आएको छ ।

यस दिन व्रती नवविवाहिता महिलाहरूले स्नान गरि माइती पक्षबाट आएको रातो, पहेँलो एवं हरियो साडी, चोलो, साया, गरगहना, चुरा, पोतो सहितका सौभाग्य सूचक गरगहना लगाएर पूजा गर्ने गरेका छन् । व्रतको समापनपछि व्रतीले कथा वाचन गर्ने महिलाहरूलाई दक्षिणा, साडीसहितका सामाग्रीहरू प्रदान गर्ने गरेका छन् । यसैगरि व्रती नवविवाहिताहरु नुनसहित खाना खाने गर्दछन् ।

यस पर्वमा नाग देवतालाई खुशी पार्न दूध, लावा, फलफूल, केराउ, चना सहितका सामाग्री चढाउने गरिन्छ ।

साउन महिनालाई मधुमास पनि भन्ने गरिएकाले विवाहित महिलाहरूले पतिको दीर्घायुको कामना तथा अगाध प्रेमको चाहनासहित पर्व मनाउने गरेका छन् । यस पर्वमा बासी फूलले नाग देवता तथा गौरीको पूजा गर्ने चलन पनि रहेको छ । यस पर्वमा नाग देवताका अतिरिक्त शिव तथा पार्वतीको पूजा गर्ने चलन छ । पर्वका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा सहितका पूजा सामाग्रीहरू माइती पक्षबाट आउने गरेका छन् ।

खास गरेर मिथिलामा बसोबास गर्ने, मैथिल बाहुन, कायस्थ, सोनार तथा लोहार जातिका नवविवाहिता महिलाहरूले मधुश्रावणी पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button