तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूल खेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूल खेतीतर्फ आकर्षित भएका छन् ।

फूल खेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूल खेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूल खेतीतर्फ आकर्षित गरेको हो ।

file photo

यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूल खेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो ।

वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले व्यावसायिक रुपमा फूल खेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताउनुभयो ।

file photo

गत वर्ष गाउँपालिकाले परीक्षणका रुपमा थालेको फूल खेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षदेखि कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र कृषक समूह छनौट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूल खेती गर्नेछन् ।

बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ । गाउँपालिका तथा कृषक समूह, कृषकले विशेष गरी दसैँ तिहारलाई लक्षित गरेर फूल खेती सुरु गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट ४०० सम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उहाँको भनाइ छ ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

कालीगण्डकी गाउँपालिका–४ को बिर्घा पुछारमा व्यावसायिक रुपमा ड्रागन खेती समेत परीक्षणका रुपमा गरिँदै आएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button