तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित पुनरावेदकहरूको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद सम्पन्न

सिन्धुपाल्चोक । भूकम्प प्रभावित पुनरावेदकहरूको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ७२ सालमा गएको भूकम्पको कुरा ७९ सालमा पनि जोडदारका साथ उठाउनुपर्दा दुख लागेको बताउनुभयो । सरकारले पीडितको समस्या तत्काल समस्या समाधान गर्न सक्नुपर्ने तामाङको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिको आयोजनामा भएको कार्यक्रममा पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पीडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पीडितहरूलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले वास्तविक पीडितहरू अझै पनि लाभग्राही कायम नभएको उल्लेख गर्दै उनीहरूलाई लाभग्राही कायम गरी सरकारले दिने रकम उपलब्ध गराउन माग गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्षहरूले पहिलो किस्ता बुझेर अहिलेसम्म घर नबनाउने, घर बनाइसकेपछि सम्पन्नताको फाइल बुझाउनेहरूको फाइल गायब बनाउनेहरूलाई कारबाहीको माग समेत गरेका छन् ।

कार्यक्रममा समितिका सदस्य भीष्मराज कडरियाले वास्तविक पीडित पहिचान गरी रिपोर्ट पठाउन आग्रह गर्नुभयो । वडा र पालिकाले सिफारिस गरेको आधारमा वास्तविक पीडितले राहत पाउनुपर्ने कडरियाले बताउनुभयो ।

समितिका सदस्य सचिव गोपीकृष्ण रेग्मीले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो । उहाँले २०७६ मङ्सिरसम्म निवेदन दिनेहरूको गुनासा मात्र समितिले हेर्ने जानकारी गराउनुभयो । आगामी पुससम्म मात्र समिति रहने भन्दै रेग्मीले त्यति बेलासम्म मात्रै निवेदन हेर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button