तपाईँ सुन्दै हुनुहुन्छः

नीति निर्माण (विधायकी) भूमिकामा युवा सहभागिता आवश्यक : प्रदेश सभामुख शाही

जुम्ला । कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले नीति निर्माण अर्थात् प्रदेशको विधायकी भूमिकामा युवाको सहभागिता आवश्यक रहेको बताउनुभयो । सङ्घीयतापछि नयाँ संरचनाका रुपमा सञ्चालित प्रदेश सरकारलाई सही ढङ्गबाट अघि बढाउन तथा अत्यावश्यक नीति निर्माणका लागि विधायकी भूमिका युवा सहभागिता आवश्यक छ ।

सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेतमा आयोजित नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको दोस्रो दिनमा आफ्नो अनुभव सुनाउँदै  सभामुख शाहीले  विधायकी भूमिका (कानुन निर्माण) को जिम्मेवारी प्रदेश सांसदको रहेको उल्लेख गर्नुभयो ।

सरकार सञ्चालनका लागि नीति बनाउने प्रदेश सभाको जिम्मेवारी हो । नीति बनाउने विधायक (सांसद) को काम हो । सभामुख शाहीले भन्नुभयो, “जनताको आवश्यकता पहिचान,स्रोत परिचालन तथा लगानीको वातावरण सृजनाका लागि नीति आवश्यक छ । पुरानो व्यवस्थाले आवश्यकता अनुसार विकास र सेवा प्रवाह हुन सकेन । त्यसैले लामो प्रयासपछि नेपालमा सङ्घीयता कार्यान्वयन भएको छ । सङ्घीयताको मर्म अनुसार विकास गर्न सेवा दिन नीति निर्माणमा युवा सहभागिता आवश्यक छ ।”

कानुन निर्माण (विधायकी) जिम्मेवारी पाएका सांसदहरू कानुन निर्माण भन्दा योजना माग्नेदेखि अन्य काममा केन्द्रित छन् । जसका कारणले प्रदेश सरकारले अपेक्षाकृत काम गर्न सकेको छैन । फलस्वरूप प्रदेश संरचनाको ओैचित्य र आवश्यकता माथि समेत प्रश्न तेस्रीन थालेका छन् ।

सभामुख शाहीले थप्नुभयो, “सङ्घीयतापछिको नयाँ संरचना प्रदेश सरकारको ओैचित्यलाई सार्थक बनाउन ठोस नीति निर्माणमा युवा सहभागिताको सुनिश्चितता आवश्यक छ । नमुना प्रदेश सभा कार्यक्रमले सभा सञ्चालन,नीति निमार्ण,सांसदको भूमिका लगायतका विषयमा युवालाई ज्ञान प्राप्त हुने र प्रदेश सरकारले त्यसको लाभ लिने आशा छ ।”

हाल सम्म कर्णाली प्रदेश सभाले ५१ विधेयक पारित गरेको छ । भने, १४ वटा विधेयक संसद् सचिवालयमा दर्ता भएको छ ।जसमा २ वटा गैरसरकारी विधेयक रहेका छन् । सिञ्जा सभ्यता विकास विधेयक २०७८ र पर्वतीय विश्व विद्यालय स्थापन गर्न बनेको विधेयक २०७८ गैरसरकारी विधेयक हुन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काफ्लेले कर्णालीका युवाको सशक्तीकरण,सरकार सञ्चालनका प्रक्रिया सिक्न र नीति निर्माणमा विधायक (सांसद) हरू लाई सहयोग पुर्‍याउने उद्देश्यले नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

युवाको क्षमता र नेतृत्व विकास बिना नीति निर्माण युवा सहभागिता असम्भव भएकोले युवा शसक्तिरकणका कार्यक्रममा जोड दिएको उहाँको भनाई छ ।

सङ्घ र स्थानीय सरकारको समन्वय सहकार्य गर्ने भूमिका वा पुलका रुपमा पनि प्रदेश सरकारले काम गर्दै आएको छ । यद्यपि कर्णाली प्रदेशले यहाँको प्रचुर  स्रोत र सम्भावनाको पहिचान तथा सम्भावनालाई अवसरमा बदल्न ठोस नीति ल्याउन सकेको छैन ।

त्यसैले नीति निर्माणमा युवाको सहभागिता अपरिहार्य रहेको  प्रदेश युवा क्लब सञ्जाल कर्णाली प्रदेशका इन्चार्ज राजेन्द्र अधिकारीले बताउनुभयो ।

नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रममा कर्णालीका १० वटै जिल्लाबाट ४० जना बढी युवा युवति सहभागी छन् । कार्यक्रम १९ गते समापन हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button