तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले सहिद परिवारलाई मासिक २१ हजार दिने 

जनकपुरधाम । मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका सहिद भएकाहरूको परिवारलाई मासिक २१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । 

सहिद परिवारको भरण पोषण बापत मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले मासिक २१ हजार रुपैयाँ दिन लागेको मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । 

यसैगरी सहिदका छोरा छोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको प्रतिष्ठानले जनाएको छ । 

भरण पोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले दिने निर्णय गरेको हो ।

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने मन्त्रालयले जनाएको छ । 

भरण पोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरूलाई आह्वान गरेको थियो । 

यस्तो सुविधा मधेश आन्दोलन र जनयुद्धमा सहिद भई नेपाल सरकारबाट समेत सहिद घोषणा भएकाको परिवारले मात्र पाउने पनि मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

यस अघि सोही प्रतिष्ठानमार्फत प्रत्येक सहिद परिवारलाई एक मुष्ट रुपमा तीन लाख रकम प्रदान गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button