तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा बजेट माथिको पहिलो दिनको छलफल सकियो

काठमाडौँ । राष्ट्रिय सभामा  आगामि आर्थिक वर्ष २०७९/०८०को राजस्व र व्ययको अनुमान (बजेट) माथिको पहिलो दिनको छलफल सकिएको छ  ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को राजस्व र व्ययको अनुमान माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भए सँगै आगामी बजेट माथिको छलफल सुरु भएको हो ।

बैठकमा भाग लिनुहुँदै नेपाली काँग्रेसका सांसद रमेशजङ्ग रायमाझीले बजेटले  कृषि, पर्यटन, सडक पूर्वाधार लगायत सबै क्षेत्र समेटेको भन्दै बजेट जनताको पक्षमा आएको बताउनुभयो ।

त्यस्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले बजेट महत्त्वाकाङ्क्षी र सस्तो लोकप्रियता हासिल गर्ने गरी आएको भन्दै यसले मुलुकको वित्तीय अवस्थालाई झन् कमजोर बनाउने दाबी गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले बजेट आत्म निर्भर अर्थतन्त्र निर्माणको आधार भएको भन्दै जनताको मर्म र पीडा सम्बोधन गरेको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निमार्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

जनता समाजवादीका सांसद मोह्मद खालिदले प्रादेशिक संरचनालाई मजबुत पार्दै सङ्घीयतालाई संस्थागत गर्ने तर्फ बजेट उन्मुख रहेको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको भन्दै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्ने गरी बजेट आउन नसकेको टिप्पणी गर्नुभयो ।

स्वतन्त्र सांसद खिमलाल देवकोटाले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

त्यस्तै नेकपा एमालेका सांसद गोपाल भट्टराईले गत वर्ष नै बर्दिबास –निजगढ सडकखण्डलाई सम्पन्न गर्न  ८ अर्ब ६६ करोड  छुट्ट्याएको भन्दै अहिले सो सडक खण्डको काममा  तीव्रता दिने भन्ने विषय सान्दर्भिक नभएको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं सांसद नारायणकाजी श्रेष्ठले बजेटले कृषिको क्षेत्रको रूपान्तरण,उत्पादन र रोजगारीमा वृद्धि,आयात नियन्त्रण र व्यापार घाटामा कटौती गरी  गरिबी  निवारणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद कमलादेवी पन्तले कृषि र किसानलाई प्रोत्साहन हुने गरी आएको बजेट जनताप्रति जिम्मेवार र जबाफदेही रहेको उल्लेख गर्नुभयो । 

बैठकमा सांसद विमला राई(पौडेल), मदनकुमारी शाह(गरीमा), नरपति लोहार, सुरेश कुमार आलेमगर, दिपा गुरुङ, भुवन बहादुर सुनार, उदय बहादुर बोहोरा, राधेश्याम पाश्वान, लगायतले  पनि बजेट माथि आफ्नो धारणा राख्नुभयो । 

बैठकले संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ । 

आज र भोलिको बैठकमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले  भोलि जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button