तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको माडीमा कांग्रेस उम्मेदवार डाँगी घाइते

रोल्पा। रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।

झडपमा परेर काँग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते हुनुभएको छ । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उहाँमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताउनुभयो । झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

“अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button