तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गर्नुभएको हो । “हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन” अर्थमन्त्रीले भन्नुभयो । आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो । 

अर्थमन्त्री शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार सचिव डा वैकुण्ठ अर्याल, बजेट लेखन समितिका सदस्यलगायतको छलफलमा सहभागिता थियो । बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुत गरेको थियो । सञ्चार सचिव डा अर्यालले गर्नुभएको प्रस्तुतीकरणमा हुलाक सेवा परम्परागत शैलीले चलेकाले सुधारको खाँचो रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिई नयाँ जनशक्ति भर्ना गरेर भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

सञ्चार मन्त्रालयले हुलाक कार्यालयलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो ।सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा तीन प्रतिशत रकम अनिवार्य रूपले कट्टा गर्ने र यसरी कट्टा गरिएको रकम विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरिएको छ । 

“सबै कार्यालयबाट यसरी विज्ञापनबापत भुक्तानी हुने रकमको तीन प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन” सञ्चार सचिव अर्यालले भन्नुभयो । बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले आगामी आवको बजेटमा ठोस विषयवस्तु मात्रै समेटेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । “यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ । यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ’ उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button