तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानद्वारा ३५६ कर्मचारी र विद्यार्थीको स्वास्थ्य बिमा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ३ सय ५६ कर्मचारी र विद्यार्थीहरूको एकमुष्ट स्वास्थ्य बिमा गरिएको छ ।

कर्मचारीले पाउने मासिक पारिश्रमिकको ०.५ प्रतिशत रकम कटाई प्रतिष्ठानमा कार्यरत ३ सय ५६ कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्य बिमा गरिएको हो ।

पाँच जना परिवारको स्वास्थ्य बिमाका लागि लाग्ने ३ हजार ५ सय शुल्कमध्ये २ हजार ५ सय रुपैयाँ अस्पतालले तिरिदिएको छ भने बाँकी १ हजार मात्र कर्मचारीको तलब र विद्यार्थीको शुल्कबाट कटाइएको छ । बीमित विद्यार्थी, कर्मचारी सहित उहाँहरूका पाँच जना प्रति परिवारले डेढ लाख बराबरको उपचार पाउने छन् ।

नेपालमा रहेका पाँच वटा प्रतिष्ठान मध्येमा पहिलो कर्णाली प्रतिष्ठानले स्वास्थ्य उपचारमा सबैको समान पहुँचको अवधारणालाई कार्यान्वयन गर्दै अनिवार्य स्वास्थ्य बिमाको कार्यक्रम अघि सारेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पूजन रोकायाले बताउनुभयो ।

३ सय ५६ कर्मचारीको एकमुष्ट स्वास्थ्य बिमाका लागि १२ लाख ४६ हजार रुपैयाँ स्वास्थ्य बिमा बोर्डलाई समेत भुक्तानी गरिसकेको अस्पताल निर्देशक रोकायाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले कर्मचारीहरू उत्साहित हुने र बाहिरबाट आएका शिक्षकहरूलाई जुम्लामै कार्यरत रहन महत पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले हालसम्म जुम्लाका ११ हजार ५ सय ४९ घरधुरीका ५७ हजार १३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएको बताउनुभयो ।

तथ्याङ्क अनुसार ५७ हजार १३ जनामध्ये ज्येष्ठ नागरिक, अति विपन्न परिवार, (क) वर्गका अपाङ्ग लगायतका झन्डै ६ हजार लक्षित वर्गले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिएका छन् ।

स्वास्थ्य बिमाको पहुँच विस्तारका हिसाबले जुम्ला कर्णाली प्रदेशको पहिलो र स्वास्थ्य सेवा प्रवाहका हिसाबले कर्णाली प्रतिष्ठान देशकै दोस्रो नमुना अस्पताल रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button