तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वर्णिम रहस्य’ को उपराष्ट्रपति पुनबाट विमोचन

काठमाडौँ । अष्ट्रेलियामा बसाेबास गर्दै आउनुभएका अभियन्ता खेमनाथ शर्माले लेखेको किताब ‘स्वर्णिम रहस्य’ को नेपालमा विमोचन गरिएको छ ।

आइतबार एक विशेष समारोहकाबीच उपराष्ट्रपति निवास लैनचौरमा विमोचन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन र सहभागीहरूले संयुक्त रुपमा स्वर्णिम रहस्यको विमोचन गर्नु भएको हो । 

सो कार्यक्रममा उपराष्ट्रपति पुनले सोही किताबको नामबाट सञ्चालनमा ल्याइएको स्वर्णिम युग फाउण्डेशनको पनि उद्घाटन गर्नु भएको छ । फाउण्डेशनको वेबसाइट www. wornimyug.org सार्वजनिक गरेर उद्घाटन गर्नु भएको हो ।

उपराष्ट्रपति पुनले किताब विमोचन र फाउण्डेशनको उद्घाटन गर्दै सह्रानीय अभियानको सुरुवात भएको बताउनुभयो । 

सबै बालबालिकाले शिक्षा पाउनु पर्ने भन्दै उहाँले यो अभियानले बालबालिकाको शिक्षामा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सबैले आ–आफ्नो ठाउँबाट शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्नुपर्ने बताउनुभयो । साथै, स्वर्णिम रहस्य पुस्तक सबैले पढ्नुपर्ने किताब भएको बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले शिक्षा सबैभन्दा बलियो हतियार भएको भन्दै आफ्नो क्षेत्रबाट यो अभियानलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले यो अभियानले समाज रूपान्तरणका लागि सहयोग गर्ने बताउनुभयो । राज्यको सफलताका लागि सहयोग हुने भन्दै उहाँले सहयोग र समन्वयका लागि सरकार सधैँ तयार रहेको बताउनुभयो । 

कार्यक्रममा फाउण्डेशनका तर्फबाट सहयोग प्राप्त विद्यालय बाल सारथिकी संरक्षक माला हरेलले सहयोगले सडक बालबालिकालाई निःशुल्क पढाउन सहयोग मिलेको बताउनुभयो ।

कार्यक्रममा फाउण्डेशनका निर्देशक खेम लकाइले स्वर्णिम रहस्य पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले दैनिक जीवनमा गर्नुपर्ने कामलाई सहज बनाउने विषयवस्तु किताबमा समेटिएको बताउनुभयो । बाह्य सफाइ जस्तै भित्री मन पनि सफा हुनुपर्छ भन्ने सन्देश किताबमा दिएको उहाँको भनाई छ ।

लेखक शर्माले कोरोना कालको बन्दाबन्दीको समयलाई अवसरको रुपमा लिँदै किताब लेखेको बताउनुभयो । उहाँले किताब बिक्रीबाट आएको रकम नेपालमा समाजसेवामै खर्च गर्नु बताउनुभयो । 

फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले फाउण्डेशनले पाँच सिद्धान्त सम्पर्क, उत्प्रेरणा, सहभागिता, लगानी र प्रोत्साहनलाई अवलम्बन गरेको बताउनुभयो । उहाँका अनुसार हालसम्म पाँच विद्यालयमा फाउण्डेशनले शैक्षिक सामग्री उपहार उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, अधिकारकर्मी मोहना अन्सारीलगायत १५० बढी विभिन्न क्षेत्रका व्यक्ति र अभियन्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button