तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा कोरोना उच्च गतिले फैलिँदै

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा माघको पहिलो सातादेखि नै परीक्षणका लागि आउनेमध्ये ५० प्रतिशतमा कोरोनाको संक्रमण देखा परेकोले कोरोना अहिले समुदायमा नै फैलिएको आशङ्का गरिएको छ ।

माघ महिनाको १ गते ७६ जनाको पी सी आर परीक्षण गरिएकोमा ३९ जनामा अर्थात् ५१ प्रतिशत, माघ २ गते ९४ नमूनाको पी सी आर परीक्षण गर्दा ५० जनामा सङ्क्रमणको पुष्टि भएर परीक्षण गराउने मध्ये ५३ प्रतिशत संक्रमण देखा परेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यसै गरी माघ ३ गते १ सय ६४ नमूनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको छ जून परीक्षण गराउने मध्येका ५७ प्रतिशत, माघ ४ गते १ सय ९५ नमूनाको पी सी आर परीक्षण गर्दा ९४ जनामा कोरोनाको पुष्टि भएको छ जून ४८ प्रतिशत रहेको छ भने आज १ सय १७ नमूनाको पी सी आर परीक्षण गर्दा ५७ जना अर्थात् परीक्षण गराएका मध्ये करिब ५० प्रतिशतमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको पुष्टि हुने अधिकांशले कोरोना विरुद्धको खोप लिएकाले लक्षण सामान्य रहेको र अस्पताल भर्ना हुने दर निक्कै न्यून रहेको प्रयोगशालाले जनाएको छ । कोरोनाको खोप नलिनेलाई संक्रमण भएको खण्डमा गम्भीर अवस्था आउने खतरा रहेको छ ।

मधेस प्रदेश सरकारले ८ वटै जिल्लामा निःशुल्क रुपमा नै कोरोनाको पी सी आर परीक्षण गर्ने व्यवस्था मिलाए पनि परीक्षण गराउन आउनेको सङ्ख्या ज्यादै न्यून रहेको छ । अहिले धेरैलाई ज्वरो, रुघा खोकीको अवस्था रहेको छ ।

बजार तथा सरकारी कार्यालयहरूमा भिडभाड यथावत् छन् । यसैबिच जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक सेवा लिन चाहने सेवाग्राहीका लागि खोप कार्ड भोलिदेखि अनिवार्य गर्न लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button