तपाईँ सुन्दै हुनुहुन्छः

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

गण्डकी। “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी ।
तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।।
सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् ।
हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।”

कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको कविताको यस पङ्क्तिले भने जस्तै हिमालका काखका डाँडा आफैँमा विशिष्ट छन् । पहाडी क्षेत्रमा मानव सभ्यताको विकाससँगै जोडिएको हिमालको काखको गाउँ हो कास्कीको मादी गाउँपालिकाको ताङतिङ । पर्यटकीय नगरी पोखराको उत्तरतर्फ साविकको नामार्जुङ गाउँ विकास समितिमा पर्ने यो गाउँ  प्राचीन गुरुङ गाउँमध्येको एक हो ।

 हिमालको काखमा रहेको यो ठाउँ पर्यापर्यटन, हिमाली दृश्यावलोकनका साथै प्राचीन संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि आकर्षक गन्तव्य पनि हो । समुद्री सतहबाट लगभग एक हजार ६५० मिटरको उचाइमा अवस्थित यो गाउँमा पर्यावरणीय अवलोकनका साथै हिमाली दृश्यावलोकन र गुरुङ जातिको सांस्कृतिक रहनसहनको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक पुग्ने गरेका छन् ।

भौगोलिक अवस्थिति अनुसार पोखरादेखि करिब २७ किलोमिटर दूरीमा रहेको यस गाउँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी यहाँको प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्चले प्राथमिकतामा राखेको छ । गाउँसँग अन्तरसम्बन्धित चार सय वर्षदेखिको इतिहास समेतलाई समेट्दै यसलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्य राखिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो ।

“भिटोफले ताङतिङलाई घरवाससँगै पदयात्रासँग जोड्नका लागि चार वर्षअघि पनि यस क्षेत्रमा अन्वेषणत्मक भ्रमण गरेको थियो”, उहाँले भन्नुभयो, “तत्कालीन समयमा ताङतिङ–करापुडाँडा हुँदै याङ्जाकोटसम्मको होमस्टे पदमार्गको अन्वेषण भ्रमणले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने काम गरेको थियो ।”ग्रामीण पर्यटनविद्, भिटोफ कार्यसमितिका सदस्य, पत्रकार, पथ प्रदर्शक, स्थानीय तथा पर्यटन व्यवसायीको सहभागितामा गरिएको सो पदमार्गको स्थलगत अवलोकनबाट पदयात्रासँग गाउँलाई जोड्ने कुराको थालनी भएको उहाँले बताउनुभयो ।

ताङतिङबाट करापुडाँडा—च्वरो डाँडा हुँदै पुनः ताङतिङ नै आउन सकिने गरी तीन दिन चार रातको पदयात्रा समेत सञ्चालन गर्न सक्ने देखिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । मञ्चले हालै गरेको अन्वेषण भ्रमण एवं अन्तर्क्रियाबाट उक्त चक्रीय पदमार्गलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने सम्भावनालाई उजागर गरेको उहाँले बताउनुभयो ।

यस चक्रीय पदमार्गमा पदयात्रा गर्नका लागि पोखराबाट पर्यटक पहिलो दिन सवारी साधनहुँदै ताङतिङ पुग्नेछन् । बेलुका ताङतिङमा गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन र अनुभव गर्दै पर्यटक दोस्रो दिन ताङतिङबाटमाथि जङ्गलै जङ्गलको बाटो तीन हजार १०० मिटर उचाइको करापुडाँडा पुग्दछन् । करापुडाँडाबाट देखिने अन्नपूर्ण र मनास्लु हिमशृङ्खला अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो । चिसो याममा करापु डाँडामा हिउँसमेत पर्ने भएकोले पर्यटक हिउँ खेल्न पाउँछन् । 

ताङतिङबाट करापुडाँडा पुग्न लगभग पाँच घण्टा पदयात्रा गर्नुपर्दछ । करापुडाँडामा पछिल्ला वर्षमा ‘टि हाउस’ तथा विभिन्न संरचना बन्ने क्रममा छन् । 

टि हाउस वा त्यही क्यापिम्ङ गरी करापुडाँडा बसेका पर्यटक भोलिपल्ट त्यहाँबाट करिब पाँच घण्टा पदयात्रा गरी च्वरो डाँडा पुग्न सक्दछन् । च्वरो डाँडा पनि हिमाली दृश्याावलोकनका लागि आकर्षक गन्तव्य हो । त्यहाँ पनि टि हाउस बन्ने क्रममा रहेको र पर्यटकले क्याम्पिङ गरेर पनि बस्न सक्ने सुवेदीले जानकारी दिनुभयो ।

 च्वरो डाँडाबाट चौथो दिन लगभग पाँच घण्टाको पदयात्रा गरी ताङतिङ फर्केपछि पदयात्राको एउटा चक्र पूरा हुन्छ । ताङतिङ झरेका पर्यटक सो दिन त्यही बस्ने वा चाँडै नै आएका अवस्थामा पोखरासम्म फर्कन सक्छन् । प्रकृति र संस्कृतिको अवलोकन गर्दै गर्न सकिने यो चक्रीय पदमार्ग पनि महत्त्वपूर्ण बन्न सक्ने भिटोफले जनाएको छ । पदयात्राकै क्रममा बाटोमा पर्ने नैचु यस क्षेत्रको महत्त्वपूर्ण इतिहास पनि हो । झण्डै चारसय वर्ष अघि बस्ती बसे यो ठाउँ गुरुङ समुदायको तीर्थस्थल पनि हो ।

गुरुङ जातिभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय चार शताब्दी अघि बसेको नौंचुमा पितृको स्मृतिमा उक्त स्थानमा नौंचु न्हेज छ्योर्ते (देवालय) निर्माण गरिएको छ ।

इतिहास अनुसार ताङतिङ गाउँको सिरानमा रहेको नौंचुमा ४०० वर्ष पहिले पैंगीलम गुरुङ बसोबास गरेकामा उनीहरूका एक सन्तान रिभान गाउँ र अर्को त्यही ताङतिङमा बसोबास गरेका थिए । नैचु दुई हजार २०० मिटरको उचाइमा अवस्थित जुन ताङतिङबाट लगभग दुई घण्टा हिँडेपछि पुग्न सकिन्छ ।

यस पदमार्गमा आसपासका वनपाखामा फागुन चैतमा फुल्ने लालीगुराँसका साथै असोज–कात्तिकको हरियाली निकै सुन्दर देखिन्छ । करिब २४० घर रहेको ताङतिङमा आउने पर्यटकलाई दृष्टिगत गरी होटेल तथा होमस्टे गरी दैनिक १५० जना पर्यटक बस्न सक्ने व्यवस्था छ । २०६५ सालदेखि सुरु भएको यहाँको होमस्टे सेवा २०६८ सालदेखि औपचारिक रुपमा पर्यटन कार्यालयमा दर्ता भएको हो । तत्कालीन समयमा होमस्टे सञ्चालनमा आए पनि व्यवस्थित बन्न नसकेको अवस्थामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशले २०७१ सालमा यहाँका सम्भाव्यता हेर्दै त्यसको प्रवर्द्धनमा सहयोग गरेको भिटोफ गण्डकी प्रदेशका पूर्व अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

“२०७३ सालमा नेपाल पर्यटन बोर्डको आयोजना एवं भिटोफ गण्डकी प्रदेशको सह आयोजनामा गरिएको होमस्टे मार्टबाट पनि ताङतिङको राम्रो प्रवर्द्धन भएको हो”,उहाँले भन्नुभयो, “त्यसयता विभिन्न समयमा उक्त स्थानमा विभिन्न तालिम तथा गोष्ठी प्रदान गर्दै आइएको छ ।” समुद्र सतहबाट एक हजार ६६० मिटर उचाइमा रहेको ताङतिङमा हाल १४ वटा होमस्टे र सातवटा होटेल सञ्चालनमा रहेको स्थानीयवासी एवं हिमालय मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण दोस्रो र चांैथाको साथै लमजुङ हिमाललाई नाङ्गो आखाले देख्न सकिने यो गाउँबाट हिम पहिरो पनि प्रत्यक्ष देख्न सकिन्छ । गुरुङ संस्कृतिको घाटु नृत्यका साथै स्थानीय परिकारको स्वाद लिन पाउनु यो होमस्टेको विशेषता हो । करापुडाँडामा हिउँ परेका कारण यतिखेर पर्यटक ताङतिङहुँदै हिउँ खेल्न पनि जाने गरेको गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button