तपाईँ सुन्दै हुनुहुन्छः

बन्जीसँगै स्काई साइक्लिङ शुरु

पर्वत । कालीगण्डकी माथिको तारे भीरमा डोरीको सहायतामा साइकल चलाउने खेल स्काई साइक्लिङ व्यावसायिक रुपमा शुरु भएको छ ।

पर्वतको बन्जी जम्पको पारीपट्टि बागलुङको बलेवामा रहेको भीरमा स्काई साइक्लिङ सञ्चालन गरिएको हो । बन्जी जम्प निर्माण गरेको द क्लिफ प्रालीले नै यो स्काई साइक्लिङ शुरु गरेको हो ।

भीरै भीर साइकल चलाउने यो खेल एडभेञ्चर टुरिजमका लागि सञ्चालन गरिएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

चार वर्ष पहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । हुन त अहिले पनि कोरोनाको महामारी फेरि शुरु भएको छ । व्यवसायीहरूले भने कोरोनाको महामारीकै बिचमा पनि स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ सुरु गरेको जनाएका छन् ।

अध्यक्ष कार्कीका अनुसार साइक्लिङ दुईतर्फी गरेर छ सय मिटरको रहेको छ । साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रहेको सुरुआती अवसरमा दुई हजार पाँच सय तोकिएको छ ।

उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत पनि छुट दिइएको उहाँले जानकारी दिनुभयो ।

साहसिक खेलप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेको जनाउँदै यसैलाई दृष्टिगत गर्दै साहसिक खेलका गतिविधि थपिएको द क्लिफका निर्देशक नेत्र पराजुलीले बताउनुभयो ।

बागलुङको बलेवा नेपानेका काँस फुल्ने जग्गा लिएर व्यवसायीले साहसिक खेलको हब बनाएका हुन् । बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्ट सहितका संरचना निर्माण भएका छन् । युरोपियन सुविधा रहेको रिसोर्टमा हरेक दिन पर्यटकको घुइँचो हुन्छ ।

कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्ने गरी अलग प्रकृतिको झोलुङ्गे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुङ्गे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्‍याएको छ ।

क्लिफका संरचना नजिकै कुश्मा व्यवसायीहरूको सक्रियतामा जिपलाइन समेत सञ्चालनमा छ । एक वर्षअघि निर्माणको काम सुरु भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button