तपाईँ सुन्दै हुनुहुन्छः

२०अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैङ्कले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बैङ्किङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैङ्कले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैङ्क वित्तीय संस्थाले भाग लिन पाउने बैङ्कले जनाएको छ ।
तरलता अभावले बैङ्क तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैङ्कहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैङ्कलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार हाल बैङ्कका औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ ।

बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैङ्कले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैङ्कले निक्षेपको व्याजसमेत बढाउनु परेको बैकरहरु बताउँछन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुआतमै निक्षेपमा दुई अङ्कको ब्याजदर तोकेका थिए । यसरी बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर असाधारण रुपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैङ्कले तीन बुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैङ्कले निक्षेपमा अधिकतम नौ दशमलव ३६ प्रतिशत व्याज दिँदै आएका छन् ।

बैङ्किङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैङ्कले लगातार रिपो मार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । यही कात्तिक ३ गते पनि बैङ्कले रु १० अर्ब बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो ।तरलताको व्यवस्थापन गर्न बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, अस्थायी तरलता सुविधा जस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैङ्कको तथ्याङ्कअनुसार हाल अन्तर बैङ्क सापटीको दर चार दशमलव ९६ पुगेको छ । बुधवार सम्म बैङ्क वित्तीय संस्थाले रु १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैङ्क वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरी रहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button