तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन् : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभई मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । 
पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताउनुभयो । 

अध्यक्ष तिमिल्सिनाले लामो समयको सङ्घर्ष र आन्दोलनपछि पनि नेपालमा राजनीतिक स्थायित्व र स्थायी शान्ति कायम हुन नसकेको उल्लेख गर्दै दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न नसकेको बताउनुभयो । मुलुकमा गणतन्त्र आइसकेको अवस्थामा मुलुकको भविष्य निर्माणको मुख्य जिम्मेवारी यहाँका राजनीतिक दलहरूकै भएकाले अरूलाई दोष दिएर उम्कन नसकिने बताउँदै उहाँले एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी जुनसुकै दल सत्तामा पुगे पनि मुलुक निर्माणको साझा स्वार्थ हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजनीतिक दल, तीनै तहका सरकार र आम जनप्रतिनिधिले मुलुकमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिँदै जबसम्म स्थायी शान्ति र राजनीतिक सन्तुलन कायम हुँदैन तबसम्म समृद्ध नेपालको नारा अधुरै रहने बताउनुभयो । 

उहाँले मुलुकको आर्थिक विकास, सुशासन र समृद्धिका लागि दलहरू साझा दृष्टिकोणका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रवासी नेपालीले विदेशमा कमाएको पुँजी र सिकेको सीपलाई नेपालमा ल्याएर सदुपयोग गर्न सकेमा मात्र पर्वत र समग्र नेपालको विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, प्रदेशसभा सदस्य विकास लम्साललगायतले समग्र पर्वतको विकासका लागि अन्तर्राष्ट्रिय पर्वत समाजसँग आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button