तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा बेमौसमी तरकारी क्षति

महोत्तरी  । महोत्तरीमा सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा बेमौसमी तरकारी बाली पूर्णरुपमा क्षति पुगेको छ । 

महोत्तरीका विभिन्न पालिकामा करिब ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा कोबी तरकारी खेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । 

महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमध्ये ५ वटा पालिकाबाट मात्र क्षतिको विवरण आएको कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र यादवले जानकारी दिनुभयो । 

सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट मात्र क्षतिको विवरण आएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार सोनामा गाउँपालिकामा ५ बिघा धान खेती नदीले कटान गरेको छ । 

महोत्तरी गाउँपालिकामा १२ बिघामा लगाइएको धान खेतीमा क्षति पुगेको छ भने ६ हेक्टरमा खेतमा काटेर राखेको धान पूरै डुबानमा परेको छ । 

त्यसैगरी एकडारा नगरपालिकामा ४ हेक्टरमा, लोहारपट्टीमा १ हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा ४ बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । 

वर्षाका कारण अधिकांश क्षेत्रको धानवालीमा क्षति पुगेको महोत्तरीका अधिकांश किसानहरू चिन्तित बनेका छन् । 

महोत्तरीमा कतै धान काटिसकिएको छ भने कतै धमाधम काट्ने तयारी भइरहेको छ । धान काटेर खेतमा नै राखेकाहरूले झन् ठूलो नोक्सान व्यहोर्नु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button