तपाईँ सुन्दै हुनुहुन्छः

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । 

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) को शेयर बिक्री खुल्ला गरेको हो ।

निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । 

बाँकी रहेको छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडले जनाएको छ । 

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले यही कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्कासन खुला हुने विवरण पत्रमा उल्लेख छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँच हजार हुने जनाइएको छ ।

सर्वसाधारणले नेपाल धितो पत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरका लागि  आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

धितो पत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button