तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गर्नुभएको छ ।

उहाँले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

साथै त्यस हमलामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तर्राष्ट्रिय कानुनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँका सहायक प्रवक्ता फराह हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा यस्ता जघन्य हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले संयुक्त राष्ट्रसङ्घ सधैँ अफगानिस्तानको सरकार र यहाँका नागरिकको पक्षमा रहेको बताउनुभएको छ । अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पनि विगत लामो समयदेखि प्रयास जारी राखेको उहाँले सो विज्ञप्तिमा जनाउनुभएको छ ।

यसरी नागरिकको शान्ति स्थापनाको चाहनाका लागि काम गर्ने संस्थामाथि भएको यस प्रकारको हिंसात्मक हमला कदापि क्षम्य नहुने उहाँका सहायक प्रवक्ताले प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ ।

पछिल्ला केही दिनमा अफगानिस्तानमा यस्ता हिंसात्मक हमलाका घटनामा वृद्धि भएको र अफगानिस्तानको सरकारका अधिकारी तथा सुरक्षाकर्मीमाथि पनि तालिबानले हमला गर्ने गरेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button