तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ

उदयपुर । उदयपुरमा विभिन्न मुद्दामा अदालतले सजाय सुनाएको चार फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेको चारै जना चौदण्डीगढी नगरपालिकाका हुन् । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका ७ का हरिमान कटुवाल, चौदण्डीगढी नगरपालिका ९ का ३८ वर्षीय रमा कोइराला, चौदण्डीगढी नगरपालिका ४ बस्ने राजीव राईको छोरी ४७ वर्षीय जोगमाया राई र चौदण्डीगढी नगरपालिका ८ का रत्न बहादुर राईका छोरा विजय थुलुङ राई रहेका छन् । 

पक्राउ परेको हरिमान कटुवाल र रमा कोइराला विवाह मुद्दाका फरार प्रतिवादीहरू हुन् । 

उनीहरू  काठमाडौँको थानकोटमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको हो । 

हरिमान पुर्पक्षको लागि कारागार चलान भएको व्यक्ति हो भने रमालाई ५५ हजार धरौटीमा तारेखमा छाडिएको थियो । 

यता जोगमाया राई किर्ते नागरिकतामा फरार रहेकी प्रतिवादी महिला हुन् । उनिलाई नागरिकताको किर्ते प्रमाण पत्र बनाई प्रचलनमा ल्याइएको आरोप छ । सोही आरोपमा राईलाई २० हजार धरौटीमा तारेखमा छुटाइएको थियो । 

त्यसैगरी विजय थुलुङ राई भने जबरजस्ती करणीका फरार प्रतिवादी हुन् । उनिलाई वारदात पश्चात् फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । राईलाई ५५ हजार धरौटी मागेकोमा धरौटी तिर्न नसक्दा कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button