तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपद्बाट गत आर्थिक वर्षमा सात जनाको मृत्यु

सल्यान। सल्यानमा गत आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक विपद्बाट सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट सात जनाको मृत्यु भएको हो ।

कार्यालयका अनुसार आगलागीबाट ४ जनाको मृत्यु, ५ घाइते भएका छन् भने ६३ घरमा क्षति पुगेको छ । आगलागीबाट ३४ पशुचौपाया घाइते भएका छन् । यस्तै बाढी पहिरोबाट ७३ घरमा क्षति पुग्दा २ जनाको मृत्यु, १ घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताउनुभयो । उहाका अनुसार हावाहुरी बार चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ । गत आ.व. मा प्राकृतिक विपद्बाट ७ जनाको मृत्यु भएको उहाको भनाई छ ।

प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको खड्काले बताउनुभयो । गत आ.व.मा प्राकृतिक विपद्बाट ज्यान गुमाएका र भौतिक क्षति भएको परिवारलाई १३ लाख ३४ हजार राहत वितरण गरिएको उहाको भनाई छ । प्राकृतिक विपद्बाट हुन सक्ने जोखिम घटाउन सुरक्षा निकायदेखि स्रोत साधनको समेत व्यवस्था गरिएको खड्काको भनाई छ ।

पहिरोले राप्ती राजमार्ग अवरुद्ध नहोस् भनेर सडक डिभिजन कार्यालय दङ्गले कपुरकोटमा र सल्यान वालुवासंग्रही सडक खण्डमा पूर्वाधार कार्यालय सल्यानले डोजर स्टेन राखेको उनको भनाई छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयारी पारेर अघि बढ्ने निर्णय समेत गरेको छ । जिल्लाका सबै वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण र उद्धार सम्बन्धी सामाग्रीहरूको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button