तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन भएको छ ।

उक्त प्रशासनिक भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा आज उद्घाटन गर्नु भएको छ । 

नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ३ करोड तथा जनकपुरधाम उपमहानगरपालिकाको साँढै पाँच करोड गरेर ८ करोड ५० लाखको लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो । 

करिब ५ वर्षमा निर्माण भएको सो भवन भुईँ तल्लासहित ६ तल्लाको रहेको छ । ७१ वटा कोठा भएको उक्त भवनमा महिला तथा पुरुष गरेर ३२ वटा शौचालय पनि रहेको छ । अपाङ्ग मैत्री सो भवनमा अपाङ्गता  भएका  व्यक्तिको लागि  अपाङ्गमैत्री शौचालयको निर्माण गरिइएको नगरपालिका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवले जानकारी दिनुभयो ।

नगरपालिकाको नयाँ प्रशासनिक भवनमा चढ्नका लागि दुई वटा सिँढी निर्माण गरिएको छ भने लिफ्टको निर्माण गरिने कार्य जारी रहेको नगरप्रमुख लालकिशोर साहले जानकारी दिनुभयो । 

भवनको निर्माण भएपछि उपमहानगरपालिकाले प्रदान गर्ने सबै प्रकारका सेवाहरू नगरवाँसीलाई एउटै भवनबाट प्राप्त हुने भएको छ । अहिले नगरपालिकाको सेवाहरू विभिन्न भवनबाट प्राप्त हुने गरेका थिए । 

नयाँ भवनको निर्माण भएपछि सबै शाखाको कर्मचारीका लागि कोठा पुगेको छ । सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्दै आएको सेवा तथा सुविधामा अझै सुधार आउने विश्वास उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रहेको छ । 

पुराना जीर्ण भवनहरू हटाएर सो ठाउँमा पार्कको निर्माण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा उपप्रमुख रिता कुमारी मिश्र, प्रमुख प्रशासकीय अधिकृत विनोद खड्कालगायतले बोल्नु भएको थियो । 

कम लागतमा सम्पन्न भएको सुविधा सम्पन्न भवनको निर्माणले नगरपालिकाका प्राविधिकहरूको सराहना गरिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button