तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पौडेलद्वारा दुई वटा पुलको उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मङ्गलवार मकवानपुरमा एक साथ दुई वटा पुलको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ स्थित ठाँटी खोलामा निर्माण भएको पक्की पुल र वडा नम्बर ३ स्थित बकैया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो । 


बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको संयुक्त लगानीमा समपूरक बजेट अन्तर्गत १ करोड रुपैयाँको लगानीमा निर्माण भएको बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल २६ दशमलव २५ मिटर लम्बाई तथा ७ दशमलव २० मिटर चौडाइको रहेको छ । पुल निर्माणपछि बकैया वडा नम्बर ४, ५ र ६ का वासिन्दाहरुलाई मदन भण्डारी राजमार्गसम्म आइपुग्न सहज भएको छ । 


यस्तै मुख्यमन्त्री पौडेलले आजै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टिभिएसयुको प्राविधिक सहयोगमा निर्मित पुलको उहाँले उद्घाटन गर्नुभएको हो । 


उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकासको युग प्रारम्भ भैसकेको बताउनुभयो । नेकपा एमाले नेतृत्वको सरकारले देशैभरि विकासको काम गरेको भन्दै उहाँले बागमती प्रदेश सरकारले मात्र साढे तिन वर्षको कार्यकालमा ४६ वटा पुल निर्माण गरेर सञ्चालनमा आएको बताउनुभयो । 


कार्यक्रममा नेकपा एमालेका नेता तथा विघटित प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहित वडाअध्यक्षहरुको समेत सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button