जर्मनीसँग ४-२ ले हार्यो पोर्चुगल
काठमाडौं ।१६ औं संस्करणको युरोकप फुटबलमा जर्मनीले पहिलो जित निकालेको छ ।
नेपाली समयानुसार शुक्रबार राति भएको समूह चरणको दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गर्दै जर्मनीले पहिलो जित निकालेको हो ।
एलियान्जा स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेनले एक/एक गोल गरे । जर्मनीले २ गोल उपहार पायो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, डियगो जोटाले एक/एक गोल गरे ।
खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।
जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो ।
जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो ।
तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो ।
त्यसपछि खेलको ३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो ।
दोस्रो हाफको ५१ औं मिनेटमा हाभर्टेजले गोल गर्दै अग्रता तेब्बर बनाए । फेरि ६० औं मिनेटमा रोबिन गोसेनले गोल गर्दै जर्मनीलाई ४-१ को अवस्थामा पुर्याए । तर, ६७ औं मिनेटमा जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने कोसिस गरे तर हार्न टार्न सकेनन् ।
समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।
पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।
समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ ।
यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्