तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मकै बालीमा गुबारो र फेद कटुवा किराको प्रकोप

सल्यान।सल्यानका किसानले लगाएको मकै बालीमा फेद कटुवा र गुबारो किराको प्रकोप देखिएको छ । गोड्ने अवस्थामा पुगेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरू मारमा परेका छन् ।

जिल्लाको मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरू चिन्तित हुन थालेका छन् । दुई पटक गोडी सकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरका किसान दीपेन्द्र रेउलेले बताउनुभयो । दुई पटक विषादी हाल्दा पनि कम नभएको उहाँको भनाई छ । रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५ -६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेको भनाई छ ।

सिद्ध कुमाख गाउँपालिका १ मेलबोटका देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक रोपेको बताउनुभयो। एक नम्बर वडाका १ सय बढी किसानले लगाएको मकैमा किराको प्रकोप देखिएको किसानहरूको भनाई छ ।१ नम्बर वडाका अधिकांश किसानले रोपेको मकैमा किरोको प्रकोप देखिएको सिद्ध कुमाख गाउँपालिकाका नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले बताउनुभयो। किरा नियन्त्रणका लागि २३ वटा समूहलाई इमोभेटिन नामक विषादी वितरण गरिएको उहाँको भनाई छ ।

जिल्लाका सिद्ध कुमाख, कालीमाटी छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिका लगायतका स्थानमा किसानहरूले लगाएको मकै बालीमा फेद कटुवा, गुबारो किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । फेद कटुवा, गुबारो र फौजी किरा पुतली समूहमा पर्ने भएकाले सुरुमै विषादी प्रयोग गर्न सके नियन्त्रणमा आउने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले बताउनुभयो। गुबारो र फौजी किरा दिनमा नदेखिने र रातमा काट्ने भएकाले नियन्त्रण गर्न केही रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button