तपाईँ सुन्दै हुनुहुन्छः

किसान सूचीकरण गर्दै त्रिवेणी गाउँपालिका 

सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण अभियान सुरु गरेको छ ।
कोरोना महामारीको बिचमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाले किसान सूचीकरण अभियान सञ्चालन गरेको हो ।
वास्तविक किसानको पहिचान गर्ने र राज्यबाट पाउने सेवा सुविधाको पहुँच बढाउनुका साथै किसानलाई समृद्ध बनाउन सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका ६ वटै वडाहरूमा गणक परिचालन गरेर किसान सूचीकरण गर्न थालिएको गाउँपालिकाको पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो  ।
गाउँपालिकाभित्रका सबै किसानहरूको सूचीकरण गर्ने लक्ष्य रहेकोमा यस बर्ष २ हजार ४ सय किसानहरूलाई सूचीकरण गरिने उहाँको भनाई छ  ।
अहिले गाउँपालिका भित्रका ४ सय ६७ जना किसानहरूको तथ्याङ्क सङ्कलन गरेर अनलाइन मार्फत अद्यावधिक गर्ने काम सकिएको उहाँले बताउनुभयो ।
किसान सूचीकरण पश्चात् किसानहरूलाई १३ अङ्कको राष्ट्रिय किसान परिचयपत्र प्रदान गरिने छ । उहाँले भन्नुभयो, ‘गाउँपालिकामा भर्ना गरेका गणकहरूले किसानहरूको तथ्याङ्क सङ्कलन गरेर अनलाइनमा अद्यावधिक गरी रहनुभएको छ, त्यसपछि गाउँपालिकाले किसानहरूको विवरण प्रमाणित गर्छ, र त्यसको विवरण प्रदेश र केन्द्रमा एकैसाथ जान्छ, यसले किसानहरूको वास्तविक अवस्था पत्ता लाग्ने छ’।
गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले कृषि पेसालाई आकर्षित र आम्दानीमूलक पेसामा रूपान्तरण गर्नका लागि यस कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । किसानहरू व्यावसायिक र अर्ग्यानिक उत्पादनमा लाग्नुपर्ने उहाँको भनाई छ ।
उहाँले तीनै तहको सरकारको समन्वयमा कृषक सूचीकरण अभियान सुरु गरिएको र यसले किसानलाई सम्मानित व्यक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो  ।
सरकारले देशभरका सबै स्थानीय तहमा किसान सूचीकरण अभियान सुरु गर्ने घोषणा गरे पनि जिल्लाका अरू स्थानीय तहमा भने सुरुवात हुन सकेको छैनन् ।
बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हिरादेवी रोकायले कोरोनाको कारण किसान सूचीकरण कार्य सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button