तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाका कारण बलेवा विमानस्थलको काम अधुरो

पर्वत । बागलुङको बलेवा विमानस्थलको काम कोरोनाका कारण गरिएको निषेधाज्ञाले अन्तिम अवस्थामा आएर रोकिएको छ । आगामी असारसम्म निर्माण कार्य सक्ने म्याद रहेको उक्त विमानस्थलको काम वैशाखदेखि रोकिएको हो । काम रोकिएपछि तोकिएको म्याद सम्म काम सक्ने सम्भावना नरहेको निर्माण व्यवसायीले बताएका छन् ।
विमानस्थल निर्माणको काम गरिरहेको काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खड्काका अनुसार अरू सबै काम सकेर विमानस्थलको ७ सय मिटर लामो धावनमार्ग कालोपत्रे गर्न मात्रै बाँकी छ । एक वर्षअघि ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको कम्पनीले नियमित काम गरिरहेको थियो । वैशाख पहिलो सातासम्म निर्माणको ९० प्रतिशत काम सकिएको खड्काले बताउनुभयो ।
अहिले विमानस्थलमा ७ सय मिटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार लगाउने, मुख्य गेट र आपत्कालीन गेट बनाइएको छ । मैदानको सबै भाग १ किमी लामो छ । तर हाल ७ सय मिटर लामो, २० मिटर चौडा कालोपत्रे गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनर्निर्माण भएको हो ।
निषेधाज्ञाका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले काम रोकिएको खडकाले बताउनुभयो । विमानस्थलको कालोपत्रे गर्ने सामान तनहुँ र म्याग्दीबाट ढुवानी गर्दै आए पनि निषेधाज्ञाका कारण ढुवानीमा समस्या भएको छ ।
बागलुङ नगरपालिका १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो विमानस्थलमा २०५० सालसम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको खत्रीले बताउनुभयो ।
गत वर्ष पनि बागलुङ नगरपालिकाले नपुग यात्रुको भाडा तिरेर भए पनि विमान उडाउँदै आएको थियो । पछि नगरपालिकालाई आर्थिक भार थपिएपछि नगरपालिकाले हात झिकेपछि विमानस्थल गौचरनमा परिणत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button