तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो ।
मन्त्रालयले आज मङ्गलवार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ ।
मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ–मन्त्रालयद्धारा लेखिएको पत्रमा उल्लेख छ ।
यसअघि शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायले लाखौँ विद्यार्थीसङ जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गर्नुभएको थियो  । मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वास्थ्य मन्त्रालयले थप प्रक्रिया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।
यस अघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङ्क सङ्कलन गरिसकेको थियो ।
सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कूटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरु गरिसकेको छ । यही माघ १४ गतेबाट सुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट सुरु भइसकेको छ
कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण सङ्कलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।
स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण सङ्कलन गरिसकेको छ ।
शिक्षा सचिव गोपीनाथ मैनाली सोमबारबाट सुरु हुने खोप अभियान पहिलो प्राथमिकताकै दोश्रो चरण भएको बताउनुहुन्छ । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत् रहेको उहाँको तर्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button