तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बन गस्ती टोली र तस्करबीच झडप, तीन जना बन गस्ती टोली गम्भीर घाइते

बारा । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं.७ पिपरामा बन गस्ती टोली र तस्करबीच झडप भएको छ ।

झडपमा परी चार जना बन गस्ती टोली घाइते भएका छन् ।घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले सञ्चालन गरेको चिरान मिल नजिकै वन गस्ती टोली माथि आक्रमण भएको थियो ।

गए राती करिब ११ः०० बजे मध्यरातमा काठ तस्करलाई पछ्याउँदै पुगेका वन गस्ती टोलीमाथि तस्कर समूहले चिरान नजिकै आक्रमण गरेका थिए ।

तस्कर समूहले वन गस्तीको एउटा राइफल समेत खोसेर मरणासन्न हुने गरी कुटपिट गरेपछि प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको स्थानीयले बताएका छन् ।

वन गस्ती टोलीमाथि आक्रमण भएको र हतियार खोसिएको समेत खबर आएपछि प्रहरीको टोली राती नै परिचालन गरिएको बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार गम्भीर घाइते वन कर्मचारीहरूको कोल्हबीमा सामान्य उपचारपछि थप उपचारका लागि विरगजं पठाइएको छ । तस्करले खोसेको राइफल फालिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो

प्रहरीले आज सोही ठाउँ बस्ने बर्ष ३५ का बलिराम चौधरीलाई नियन्त्रणमा लिई सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button