तपाईँ सुन्दै हुनुहुन्छः

पुस महिनाभित्रै ५ लाख मानिसमा एन्टिजेन परीक्षण गरिने

काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको बास्तविक अवस्था छिटो पहिचान गरी संक्रमण दर कम गर्ने लक्ष्यका साथ सातै प्रदेशमा एन्टिजेन परिक्षण सुरु गरेको छ ।
एन्टिजेन परीक्षणमार्फत कोरोना सङ्क्रमण भए/नभएको तत्कालै पत्ता लगाउन सकिने भएकाले यसै महिनामा ५ लाखमा एन्टिजेन परीक्षण गर्ने गरी काम सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवम् सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका र दुई सयभन्दा बढी सङ्क्रमित रहेको स्थानमा छिटो सङ्क्रमित पहिचान गर्नका लागि एन्टिजेन परीक्षण सुरु गरिएको छ ।
पिसिआर परीक्षणको तुलनामा कम खर्चिलो र छिटो नतिजा प्राप्त गर्न सकिने भएकाले पनि सङ्क्रमितको अवस्था पहिचान गरी सङ्क्रमणको दर घटाउन यसको परीक्षण आवश्यक देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले पनि पिसिआर परीक्षण गरिएका मध्ये १५ प्रतिशतमा पोजेटिभ देखिने गरेकाले यसको सङ्क्रमण थप फैलन सक्ने अवस्थालाई मध्यनजर गरी घना बस्ती, ठुला सहर, बढी सङ्क्रमण देखिएको स्थान र जोखिम क्षेत्र पहिचान गरेर एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
एन्टिजेन परीक्षणबाट तत्कालै नतिजा आउने भएकाले यसको परीक्षण पोजेटिभ आएमा सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखिने र नेगेटिभ आएर पनि सङ्क्रमणको लक्षण देखिएमा पिसिआर परिक्षण समेत गरिने छ ।
एन्टिजेन परीक्षण कम खर्चिलो र पिसिआर जस्तो विश्वासिलो पनि छैन भन्ने गुनासो आइरहेका बेला पिसिआरबाट पनि ७० प्रतिशत मात्र विश्वसनीय नतिजा आउने उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनले समेत एन्टिजेन परीक्षणलाई मान्यता दिएकोले यसलाई गलत भन्न नमिल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले बताउनुभयो ।
एन्टिजेन परीक्षणका सम्बन्धमा सर्वसाधारणमा बुझाइ कम भएकाले पिसिआर परीक्षणमा जस्तो भिडभाड नभएको जानकारी दिँदै विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाको फुड एण्ड ड्रग एड्मिस्ट्रेसनले प्रयोग गरेर यसको विश्वसनीयता राम्रो छ भनेपछि मात्रै नेपालमा प्रयोग गरिएकाले यसमा शङ्का गर्नु नपर्ने पनि महाशाखाका निर्देशक डा.पाण्डेले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित देखिएकाले ५० प्रतिशत एन्टिजेन परीक्षण बागमती प्रदेशमा गरिने तयारी गरिएको छ भने सङ्क्रमणको दरका आधारमा प्रदेश र स्थानीय तहको समन्वयमा अन्य स्थानमा एन्टिजेन परीक्षण गरिने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा यस अघि नै परीक्षण सुरु गरिसकिएको र अन्य स्थानमा परामर्श सुरु भएको भए पनि आइतबारदेखि भने सबै प्रदेशमा परिक्षण सुरु भएको छ ।
सरकारले यसै महिनाभित्र पाँच लाख बढीमा एन्टिजेन परीक्षण गर्ने लक्ष्यका साथ  सुरु गरेको कार्यक्रममा यसका राम्रो, नराम्रो पक्षका बारेमा स्थानीय तहसँगको समन्वयमा विभिन्न तालिममार्फत जानकारी दिँदै परीक्षणलाई अगाडि बढाइने पनि जनाएको छ ।
समुदायमा सङ्क्रमण फैलिएको छ कि छैन भन्ने चाँडो पत्ता लगाउनका लागि एन्टिजेन परीक्षण प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button