तपाईँ सुन्दै हुनुहुन्छः

अछामको रामारोशन गाउँपालिका एक हप्ता सिल, पछिल्लो समय सिल हुने पाँचौँ पालिका

अछाम । कोरोना भाइरस (कोभिड -१९) को संक्रमण फैलिन थालेको र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेपछि अछामका स्थानीय तह एकपछि अर्को सिल गर्न थालिएको छ । पछिल्लो समयमा हालसम्म जिल्लाका १० मध्ये ५ स्थानीय तह सिल गरिएका छन् । जिल्ला अस्पताल पनि अनिश्चितकालका लागि सिल गरिएको छ ।
पछिल्लो समय अछामको रामारोशन गाउँपालिका १ हप्तासम्मका लागि सिल गरीए सँगै सिल गरिने पालिकाको सङ्ख्या पाँच पुगेको हो ।
पालिकाका केही कर्मचारी र अन्य स्थानीय नागरिकमा कोरोना देखिएपछि गाउँपालिका एक हप्ताका लागि सिल गरिएको हो ।
कोरोना सङ्क्रमणको उच्च जोखिम कम गर्नका लागि हाललाई पौष ५ गतेसम्म लागू हुनेगरी एक हप्तासम्म गाउँपालिका भित्रका बजार क्षेत्र, शैक्षिक संस्था र बैङ्क तथा वित्तीय संस्था बन्द हुने रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले यो अवधिमा गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै कामकाज समेत बन्द गरिने जानकारी गराएको छ ।
गाउँपालिका अन्तरगतका विद्यालयहरूमा पठन पाठन नगर्ने, बजार क्षेत्र सबै बन्द गर्ने तर बिहान ८ बजे देखी ११ बजे सम्म खाद्य उपभोगका पसलहरू सञ्चालन गर्ने, यातायातका साधनहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नुपर्ने, पालिका क्षेत्रभित्र कुनैपनि सभा, समारोह,सम्मेलन, मेला पर्व र भोजभतेर गर्न नपाइने र बैँक तथा वित्तीय संस्थाहरूमा समेत मानिसहरूको भिड हुँदा कोरोना भाइरसको जोखिम उच्च बढ्ने देखिएकाले बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभएको छ ।
गाउँपालिकाले बन्द अवधिमा पनि कोभीड–१९ को संक्रमणबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्न समेत पालिकाबासीलाई अनुरोध गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीद्वारा जारीे सूचनामा उल्लेख गरिएको छ । यसअघि जिल्लाका मंगलसैन नगरपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका कोरोना भाइरसको कारण सिल गरिएका छन् ।
अछाममा निकोभए  करिब १२ सय कोरोना संक्रमित, ३२० सक्रिय संक्रमित
अछाममा हालसम्म करिब १२ सय मानिस कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहका गरी हालसम्म ११ सय ९८ जना निको भई घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी देब जोशीका अनुसार हालसम्म साँफेबगर नगरपालिकाका २ सय ७५ जना, मंगलसैन नगरपालिकाका २ सय ४ जना, रामारोशन गाउँपालिकाका १ सय ६४ जना, मेल्लेख गाउँपालिकाका १ सय ४७ जना र बान्नीगढी जयगढ गाउँपालिकाका १ सय ६ जना कोरोना भाइरसको संक्रमण जितेर घर फर्केका छन् । यस्तै पञ्चदेवल विनायक नगरपालिकाका ८९ जना, चौरपाटी गाउँपालिकाका ७६ जना तथा तुर्माखाँद गाउँपालिकाका ६० जना, कमलबजार नगरपालिकाका ४८ जना र ढकारी गाउँपालिकाका २९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।
जिल्लामा हालसम्म १५ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६ जनाको स्वाबको नमुना परिक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी जोशीले बताउनुभयो । हाल जिल्लामा ३ सय २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यसमा १ सय ७३ जना मंगलसैन नगरपालिकाका मात्रै रहेका छन् । ढकारी र मेल्लेख गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button