तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने

मोरङ- प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताउनुभयो । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिनुभयो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताउनुभयो ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button