तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा तीन विधेयक पेश

काटमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा तीन वटा विधेयक पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७” पेश गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले “निकासी पैठारी (नियमन) विधेयक, २०७६” र “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६” पेश गर्नुभयो ।

उक्त विधेयकहरु प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि परेको विरोधको सूचनाहरुलाई वैठकको बहुमतले अस्विकृत गरेको थियो ।

यस्तै बैठकले अर्थ मन्त्री डा. खतिवडाले प्रस्तुत गर्नु भएको “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७५÷०७६” पेश गर्नुभयो ।

यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक र विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले “खानेपानी तथा सरसफाइ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७” बैठकमा पेश गर्नुभयो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” राष्ट्रिय सभाबाट पारित भएको सन्देशको जानकारी गराउनुभयो ।

सचिव योगीले प्रतिनिधि सभामा उत्पत्ति भएको “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५”, “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५” र राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशहरु सहितको विधेयक टेबुल गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार ९ गते मंगलवार दिउसो १ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button