तपाईँ सुन्दै हुनुहुन्छः

५ सय ८६ संक्रमित थपिए, मृतकको संख्या २०  

आज थप ५ सय ८६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५ सय ४६ जना पुरुष र ४० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज २४ घण्टाको अवधिमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । यस अगाडि यही असार १ गते सोमबार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ र सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ र झापाका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४, महोत्तरीका ५, बाराका ७ र रौतहटका ११ जना, नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १०, महोत्तरीका १ सय ८९, रौतहटका ३९, रुपन्देहीका ३, सर्लाहीका ६ र प्युठानका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २२ र रौतहटका ७७ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका ३ र नवलपरासी पूर्वका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २६, प्युठानका २०, रुपन्देहीका ४ र अर्घाखाँचीका ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बाँकेका १ र बर्दियाका ३१ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ र सल्यानका २५ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेत र दैलेखका २–२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १४ जना, सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ७३ जिल्लाका ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार १ सय ६७ पुगेको छ ।

आज महेन्द्रविनय अस्पताल सिराहाबाट ६ जना पुरुष र नारायणी अस्पताल विरगञ्जबाट ३ जना पुरुष संक्रमण मुक्त भई घर फकिएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल सम्म १ सय १२ जना महिला १ हजार ५५ जना पुरुष संक्रमण मुक्त भएका छन् ।

यसैगरी नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा यही असार १ गते मृत्यु हुने बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ४६ वर्षीय महिलामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या २० पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

मृगौलाको उपचारका लागि अस्पताल भर्ना भएपछि असार १ गते नै स्वाव संकलन गरी हिजो भेरी अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ४९ हजार ७ सय ७२ जनाको पिसीआर तथा २ लाख ३३ हजार ५ सय ४३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९७ जनाको पिसीआर तथा १० हजार २४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ५ हजार ९ सय ९० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button