तपाईँ सुन्दै हुनुहुन्छः

जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्‍याउन प्रधानमन्त्रीबाट आग्रह

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्‍याउन सबै निकायसँग आग्रह गर्नुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्‍याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रता कार्यान्वयनबिच वातावरण मैत्री विधि अपनाउनुपर्नेमा जोड दिँदै प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ ।

यसबाट सिर्जित दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई असर पुर्‍याएको उहाँले बताउनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button