तपाईँ सुन्दै हुनुहुन्छः

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेपछि प्राविधिक समिति गठन गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो ।

भारतसम्म आइसकेको सलह नेपालमा आउन सक्ने सम्भावना र त्यसको रोकथामबारे समितिले अध्ययन र तयारी गर्ने छ । सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम लोकष्ट प्लेग दिएको छ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button