तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकामा नियमित खोप कार्यक्रम सुचारु 

मकवानपुर । हेटौँडा उपमहानगरपालिका कार्यालयले नियमित खोप कार्यक्रम पुन सञ्चालन सुचारु गरेको छ । कोरोना प्रभाव र लकडाउनका कारण गत महिनाबाट रोकिएको नियमित खोप कार्यक्रम उपमहानगरपालिकाले बिहीबारदेखि पुन सुचारु गरेको हो ।

उपमहानगरपालिकाले खोप कार्यक्रमअन्तर्गत बिहीबार वडा नम्बर १ र ४ मा डिपिटी, पिसिभी र एफआइभिपी खोप लगाईएको जनाएको छ । लकडाउनका कारण करीब एक महिना अघिदेखि रोकिएको नियमित लगाउनुपर्ने डिपिटी, पिसिभी र एफआइभिपी खोप बिहीबारबाट सुचारु गरिएको उपमहानगरपालिका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

बिहीबार हेटौँडा– १ का ३५ जना बालबालिकालाई डिपिटी र हेटौँडा– ४ का २९ जनालाई पिसिभी र एफआइभिपी खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको र सुरक्षित तवरले कार्यक्रम सुचारु गरिएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

कोरोना प्रभाव र लकडाउनका कारण उपमहानगर क्षेत्रका बालबालिकाका लागि अनिवार्य आवश्यक खोप रोकिँदा अर्को समस्या उत्पन्न हुने भएकाले नियमित कार्यक्रम सुचारु गरिएको उहाँले बताउनुभयो । खोप कार्यक्रमलाई अन्य वडाहरुमा समेत निरन्तरता दिईने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button