तपाईँ सुन्दै हुनुहुन्छः

तिहारमा निर्धक्क भएर बत्ती बाल्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले यस पटकको तिहारमा निर्धक्क भएर बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको छ ।

अघिल्ला वर्षहरुमा बढी विद्युत् माग हुने समयमा धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने गरेको प्राधिकरणले यस पटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको हो ।

बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको नेपाल विद्युत प्रधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनु भयो ।

प्राधिकरणले विद्युत् पुगेका स्थानका कुनै पनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको उहाँले जानकारी दिनु भयो ।

नेपाल विद्युत प्राधिकरणले यस पटकको लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा १ हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।

प्रधिकरणको भारप्रेषण केन्द्रले कूल १ हजार १९० मेगावाटदेखि १ हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्ने अनुमान गरेको छ ।

तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको भनाई छ ।

आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको प्रवक्ता अधिकारीको भनाइ छ ।

नवलपरासीको बर्दघाट सवस्टेशनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत् उपलब्ध गराइएका कारण कुनै पनि घरमा अँध्यारो नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button