तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ :मन्त्री बाँस्कोटा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सि जिङ् फिङको नेपाल भ्रमणको दुबै देशका तर्फबाट उच्च प्राथमिकता साथ तयारी भैरहेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताउनुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले यसै वर्ष भित्र चीन सरकारका तर्फबाट उच्चस्तरीय भ्रमणको तयारी भएपनि भ्रमणको मिति निर्धारण हुन बाँकी रहेको बताउनुभयो ।

सरकारले यस वर्षलाई उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षका रूपमा लिएर कुटनीतिक मामिला सञ्चालन गरिरहेको बताउनुहुँदै मन्त्री बाँस्कोटाले यसै वर्षभित्र चीन, भारत तथा अन्य मित्रराष्ट्रहरू बाट समेत उच्चस्तरीय भ्रमणहरू हुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारको एक अर्को प्रश्नमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चीनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधी बीच भरखरै सम्पन्न छलफलले नेपाल कम्युनिष्ट पार्टीको सैद्धान्तिक मान्यतामा परिवर्तन नआउने समेत स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी आफ्नै मौलिक सिद्धान्तका आधारमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णय हरू….
सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डीगढमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च उपलब्ध गराउने भएको छ ।

मन्त्रपरिषद्को यही असोज ७ गतेको बैठकले पूर्व राष्ट्रपति यादवको उपचार सम्वन्धि बिल बमोजिमको खर्च नयाँ दिल्ली स्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणबाट घाईते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापनका लागि जनही ३ लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

यसैगरी बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ को रिक्त रहेको वडाध्यक्ष पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने, प्रहरी अतिरिक्त महानिरीक्षकको सरूवा गर्ने, नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच हवाई सेवा सञ्चालन सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने, नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघ बीच बाङ्मय आदान–प्रदान तथा सहकार्य गर्ने सम्वन्धी समझदारी पत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई नेपालको तफबाट हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जूमा गर्न सैद्धान्तिक स्वीकृति दिने, राजकीय अतिथीगृह निर्माण गर्ने गुरूयोजना स्वीकृत गर्ने, नेपाल ट्रष्ट पहिलो संशोधन नियमावली २०७६, सूचनाको हक कार्यन्वयन सम्बन्धी अनुगमन निर्देशिका २०७५, र एकल महिला सुरक्षा कोष सञ्चालन पहिलो संशोधन नियमावली २०७६ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button