तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता 

न्यूयोर्क –  संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ ।  उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आउनु भएको हो ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताउनुभयो ।
प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उहाँले जानकारी दिनुभयो । न्यूयोर्क आउनुअघि उहाँ साउदी अरब जानु भएको थियो ।
साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उहाँ साउदी युवराजको विमानबाट न्यूयोर्क आउनु भएको हो ।
दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।
उहाँहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताउनु भएको छ । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button