तपाईँ सुन्दै हुनुहुन्छः

कागेश्वरी मनोहरामा विश्वकै ठूलो कागको मूर्ति निर्माण गर्ने तयारी

 

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुले बनेको कागको मुर्ति निर्माण गरिने भएको छ । नगरपालिकाको लोकतान्त्रिक सहिद पार्कमा आगामी फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने भएको हो ।

आज एक मलेसियन नागरिकले नगरपालिका वडा–१ गागलमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा. राम उप्रेतीले तामाको गाग्री काग निर्माणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो ।

मलेसियन नागरिकलाई सानै उमेरमा उहाँको आमाले हातमा लगाइदिएको पञ्चरत्न जडित बाला र डा. उप्रेतिलाई आफ्नो बिबाहमा दाइजो स्वरुप प्रदान गरिएको तामाको ग्रागी नगरपालिकाका प्रमुख कृष्णहरी थापामार्फत वडा–१ का वडाध्यक्ष मुकुन्द गजुरेललाई प्रदान गर्नुभयो ।

वडाध्यक्ष गजुरेलले मलेसियन नागरिक र डा.उप्रेतिलाई काग निर्माण गर्ने पवित्र कार्यका लागि प्रदान गरिएको बाला र तामाको गाग्री प्रदान गरिएकोमा सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “यस अभियानमा लागौं र हामी सँगसँगै अगाडि बढौं ।”

नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले विश्वकै ठूलो दुई हजार किलोको काग निर्माण गरेर इतिहास रच्न लागेको बताउनुभयो । तथ्यांक अनुसार इन्डोनेशियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले नै कागेश्वरी मन्दिरमा २ सय २७ किलोको काग यस अघि नै निर्माण गरिसकेको छ । नगरपालिकालाई पर्यटकीय गन्तव्यको केन्द्र निर्माण गर्नका लागि नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्ने विभिन्न कार्य गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button