तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्साका हावाहुरी प्रभावितलाई जनता आवास हस्तान्तरण

बीरगंज –  गत चैत्र १७ गते आएको विनाशकारी हावाहुरीले भत्काएको बारा र पर्साका स्थानीय बासिन्दाको घर सरकारले निर्माण गरी आज हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्धारा आयोजित कार्यक्रममा ती घरहरुको साचो कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभयो । सरकारले ती घरहरु निर्माण गर्न नेपाली सेनालाई जिम्मा लगाएको थियो ।

कार्यक्रममा प्रधान सेनापति पुर्णचन्द्र थापाले निर्माण सम्पन्न गरिएका बाराका ८ सय ७ र पर्साका ६२ गरी ८ सय ६९ घरको साचो कार्यवाहक प्रधानमन्त्री पोख्रेललाई हस्तनान्तरण गर्नु भएपछि उहाँले साचो प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतलाई हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले कार्यक्रमस्थलमै हावाहुँरीबाट प्रभावित भई घर निर्माण गरिएका बाराका कलैया उपमहानगरपालिका, पचरौता र महागढीमाई नगरपालिका, फेंटा , सुवर्णपुर, प्रसौनी, परवानीपुर र देवताल गाँउपालिका तथा पर्साको वीरगन्ज महानगरपालिका, बहुदरामाई नगरपालिका र सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरुलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

हस्तनान्तरण गरिएको साचो सम्बन्धित स्थानीय तहका प्रमुखहरुले आ–आफनो गाँउपालिका तथा नगरपालिकाको प्रभावित क्षेत्रमा पुगी विशेष कार्यक्रमको आयोजना गरी पीडितलाई हस्तनान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।

त्यस अवसरमा कार्यवाहक प्रधानमन्त्री पोख्रेलले तीन तहका सरकारको उच्चतम समन्वयको कारण बारा र पर्साका हावाहुरी पीडितहरुको घर समयमै निर्माण भई हस्तनान्तरण गर्न सकिएको बताउनुभयो ।

उहाँले नेपाली सेनाले राष्ट्रिय स्वाधिनता, क्षेत्रिय अखण्डताको रक्षा मात्र नभई विकास निर्माण र राज्यलाई विपद् परेको बेला सदैव जनता र देशका लागि योगदान पुरयाउदै आएको उल्लेख गर्दै तोकिएको समयमै घर निर्माण गरी हस्तान्तरण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले सरकार मात्र होईन प्रणाली नै परिवर्तन गरी तिन तहको सरकार बनेको अवस्थामा तीन तहकै सरकारबीच आपसी समन्वय कसरी गर्नुपर्छ भन्ने उदाहरण बारा पर्साको हावाहुरी पिडितहरुको घर निर्माणले देखाएको बताउंदै देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्री पोख्रेलले वर्तमान सरकार गठनपछि जनताले राखेका अपेक्षा पुरा नभएको गुनासो आउनु स्वभाविक भएको बताउंदै अब जनतालाई दिईएको वाचा र प्रतिबद्धता अनुरुप काम गरेर देखाउने बेला आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकांक्षा अनुरुप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले चैत्र १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीले पुरयाएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशन अनुरुप सेनाले घर निर्माण सम्पन्न गरेको बताउनुभयो ।

चैत्र १७ गते आएको विनाशकारी हावाहुरीको कारण बारा र पर्सामा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सय भन्दा बढी घाईते भएका थिए । हावाहुरीले ठूलो धनजनको क्षति पु¥याएपछि चैत्र २१ गते सम्पन्न मन्त्रिपरिषदको आकस्मिक बैठकले हावाहुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सो निर्णयपछि बारा र पर्सामा नेपाली सेनाले बैशाख २१ गते घर निर्माण कार्यको थालनी गरेको थियो । नेपाली सेनाले बारा पर्सामा १२ समूह बनाएर सैनिक र गैर सैनिक गरी छ हजार भन्दा बढी जनशक्ति घर निर्माणमा लगाएको थियो ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले प्रत्येक घरको लागत ४ लाख ८५ हजार रहेको प्रतिवेदन पेश गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो ।

सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ । मितव्ययिता अनुरुप निर्माण गरिएका घरहरु प्राकृतिक प्रकोप प्रतिरोधी हुनुका साथै उच्चस्तरिय वातावरण मैत्री रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button